“१००औं जन्म दिवस - श्री सत्य साई बाबा”
- News
- Nov 26
- 1 min read
श्रीमती रुपा पुन (बिन्दास), श्रीमती बिनु लिम्बु, श्रीमती कमला खत्री तथा अन्य श्रद्धालु भक्तजनहरूको सौहार्दपूर्ण पहलमा गत आइतबार, २३ नोभेम्बरका दिन, गोर्खा होममा श्री सत्य साई बाबाको १००औं जन्म दिवस अत्यन्तै भव्य र उल्लासपूर्ण वातावरणमा सम्पन्न भयो।
दिउँसो ३ बजेबाट सुरु भएको पूजा तथा स्थानको सुन्दर सजावट झण्डै ४:३० बजे सम्पन्न भयो। ४:४५ बजेदेखि भक्तजनहरूको आगमनले वातावरण झनै प्रकाशमान हुँदै गयो, र ठीक ५ बजेबाट श्री सत्य साई बाबाको पूजा तथा भजनको औपचारिक थालनी भयो।
श्रीमती रुपा, श्रीमती बसन्ती, श्रीमती कमला र श्रीमती विद्या, यी चार आध्यात्मिक रूपमा समर्पित दिदीबहिनीहरूको नेतृत्वमा गरिएको भजन-बाचन ले पूरा सभा-कक्षलाई भक्ति, प्रेम र शान्तिको तरङ्गले भरिदियो। “साई राम, साई राम…” का मधुर स्वरहरूले सहभागी सबैको मनमा आध्यात्मिक आनन्द जगाइदियो।
झण्डै ७ बजेतिर भजन सम्पन्न गरि आरती अर्पण गरियो। त्यसपछि भक्तजनहरूले श्री सत्य साई बाबाको पवित्र बेहुती शिरमा लगाउँदै दियोको उज्यालोमा आफ्नो श्रद्धा, भक्ति र आत्मसमर्पण व्यक्त गरे, यो दृश्य साँच्चिकै प्रेरणादायी र हृदयस्पर्शी थियो। आरती पश्चात् प्रसाद वितरण भयो।
भक्तजनहरूले श्री सत्य साई बाबाको दिव्य शक्ति सधैँ सबैको मन-मनमा उज्यालो बनिरहोस् भन्ने कामना गर्दै, “श्री सत्य साई बाबा की जय!” का गुञ्जनयुक्त जयकारासहित जन्म उत्सव साँझ ७:३० बजे सौहार्दपूर्ण रूपमा सम्पन्न भयो। त्यसपछि सबै भक्तजनहरू हर्ष, शान्ति र आध्यात्मिक ऊर्जासहित आ-आफ्ना घरतिर फर्किए।
धन्यवाद
उदयबहादुर गुरुङ MBE
चेयर / ट्रस्टी
को. ने. सो.










Comments